वीरगंज , १६ माघ –
रिकभरिङ नेपाल (Recovering Nepal) को आयोजनामा लागूऔषध प्रयोगकर्तालाई फौजदारी मुद्दा तथा दण्डको सट्टा अपनाउन सकिने वैकल्पिक उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
रिकभरिङ नेपाल मधेस प्रदेशका फोकल पर्सन आयुष भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी, प्रशासन, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रस्तुतीकरण जावेद आलमले गर्नुभएको थियो।
कार्यक्रममा नेपालमा लागूऔषध प्रयोगलाई अझै पनि फौजदारी न्याय प्रणालीको विषयका रूपमा हेरिँदै आएको उल्लेख गरियो। तथ्यांकअनुसार जेलमा रहेका कैदीमध्ये हरेक पाँच जनामध्ये एक जना लागूऔषधसम्बन्धी मुद्दामा रहेका छन्।
सरोकारवालाहरूले दमनकारी नीति दीर्घकालीन समाधान नहुने र यसले न्याय प्रणालीमाथि बोझ बढाएको बताए। साथै लागूऔषध प्रयोगकर्तालाई स्वास्थ्य र मानव अधिकारको दृष्टिकोणबाट हेर्ने धारणा क्रमशः विकास हुँदै गएको उल्लेख गरियो।
कार्यक्रममा प्रस्तुत नयाँ विधेयक वैज्ञानिक प्रमाण र मानव अधिकारमा आधारित प्रगतिशील कदम भएको निष्कर्ष निकालिएको छ।









