वीरगंज , १६ माघ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले शहिद दिवसको अवसरमा देशका अमर शहिदहरूको बलिदान स्मरण गर्दै सुशासन र भ्रष्टाचारमुक्त राज्य निर्माणको जिम्मेवारी आजको पुस्ताको काँधमा आएको बताएका छन्।
शहिद दिवसका अवसरमा जारी सन्देशमा शाहले राणा शासनविरुद्ध संघर्ष गर्दै ज्यान गुमाएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको ८५ वर्षअघि भएको निर्मम हत्या स्मरण गरेका छन्। उनले त्यसपछि पनि राज्य जनतामैत्री बन्न नसकेको उल्लेख गर्दै दशकौँमा व्यवस्था बदलिँदा पनि सत्ताको प्रवृत्ति उस्तै रहनु दुखद यथार्थ भएको टिप्पणी गरेका छन्।
शाहका अनुसार इतिहासभरि नेपाली जनताले बारम्बार बलिदान दिँदै आए पनि शहिदहरूले देखेको सपना अझै अधुरै छ। पछिल्लो समय भदौमा भएको ‘जेन्जी आन्दोलन’ का क्रममा सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनाले राज्य व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
उनले देशमा लामो समयदेखि जरा गाडेको भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र राज्यका निकायमा व्याप्त चरम दलीयकरणको अन्त्य अहिलेको अनिवार्य दायित्व भएको उल्लेख गरे। राज्यलाई पारदर्शी र जवाफदेही बनाउनु नै शहिदहरूप्रति साँचो सम्मान हुने शाहको धारणा छ।
शहिद दिवस केवल स्मरणको दिन मात्र नभई शहिदका सपना साकार पार्ने संकल्प गर्ने दिन भएको उल्लेख गर्दै शाहले अब फेरि कसैले पनि शहिद बन्नु नपर्ने अवस्था सिर्जना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
सन्देशको अन्त्यमा उनले सम्पूर्ण ज्ञात तथा अज्ञात शहिदहरूप्रति गहिरो श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन्।









