आर्थिक अभावका कारण घाइतेको उपचार नरोक्न पूर्वमन्त्री श्रेष्ठको आग्रह

बारा, १६ माघ । पूर्वमन्त्री तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले बाराको परवानीपुरमा भएको चक्कु प्रहार घटनाका घाइतेसंग भेट गरेका छन।
श्रेष्ठ गण्डकस्थित एलएस न्यूरो अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका हुन।
सो क्रममा उनले अस्पतालको आर्थिक प्रशासन शाखाका प्रमुख दिपु राउतसँग भेट गरी आर्थिक कारणले उपचार प्रभावित नहोस भन्दै ध्यानाकर्षण गराएका थिए।
भेटका क्रममा घाइते र उनीहरूको परिवारले उपचारका लागि आर्थिक समस्या रहेको जानकारी गराएका थिए। त्यसपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेता श्रेष्ठले आर्थिक अभावका कारण घाइतेको उपचार रोक्न नहुने भन्दै अस्पताल प्रशासनलाई आग्रह गरेको बताए।
परवानीपुर गाउँँपालिका १ रहरियाडीमा बुधवार बिहान भएको चक्कु प्रहार घटनामा आमाछोराको विभत्स हत्या भएको थियो भने बुवाछोरी घाइते भएका थिए।
घटनामा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको ज्यान गएको छ। सुमित्राका ५२ वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिनाकुमारी घाइते भएका थिए ।
घटनामा संलग्न आरोपमा रामेश्वरकी पत्नी मनिताकुमारी र उनका प्रेमी धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ। वैदेशिक रोजगारीका लागि दुबईमा रहेका धर्मेन्द्र नेपाल आएर मनिताको सहयोगमा रामेश्वर र उनकी आमामाथि चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

सम्बन्धित पोस्टहरुः