परिवर्तन र सुशासनको भरोसा रास्वपामा देखेका छौँ- युवाहरू

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का करिब एक सय युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगञ्जको घण्टाघरस्थित क्लासिक ब्यांक्वेट प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवाहरूले औपचारिक रूपमा रास्वपाको सदस्यता ग्रहण गरेका हुन्।

पार्टी प्रवेश गर्ने युवाहरूले देशलाई पुराना राजनीतिक दलका नेताहरूले गलत दिशामा लगेको आरोप लगाउँदै अब मुलुकलाई सही मार्गतर्फ अघि बढाउने आशा राष्ट्रिय स्वतन्त्र पार्टीबाट देखेको बताएका छन्। “अब पुराना दलबाट देशको सुधार सम्भव छैन, परिवर्तन र सुशासनको भरोसा रास्वपामा देखेका छौँ,” उनीहरूको भनाइ थियो।

कार्यक्रम पर्सा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै पन्तले युवाहरूको सहभागिताले पार्टीलाई थप ऊर्जा र बल मिलेको बताउँदै स्वच्छ राजनीति, सुशासन र जवाफदेही शासन प्रणाली स्थापनाका लागि रास्वपा प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा रास्वपा जिल्ला सचिव सुदिप प्रजापति, पर्सा–१ का सभापति राम आर्य, नगर उपाध्यक्ष आशुतोष द्विवेदी, नगर सचिव गौतम श्रेष्ठलगायत पार्टीका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पार्टी प्रवेश गर्ने युवाहरूमा निरज कुमार, आनन्द चौरसियालगायत विभिन्न क्षेत्रका सक्रिय युवाहरू रहेका छन्।

सम्बन्धित पोस्टहरुः