वीरगंज , १७ माघ –
मधेश साहित्य महोत्सव २०२६ तेस्रो दिनको सबैभन्दा आकर्षक कार्यक्रम भोजपुरी गायिका कल्पना पटवारीको सांगीतिक साँझ अहिले वीरगंजमा जोरदार रूपमा जारी छ। उनले स्थानीय कलाकारहरूसँग सहकार्य गर्दै दर्शकलाई मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गरिरहेकी छन्।
यसअघि महोत्सवमा साहित्यिक बहस, विचार–विमर्श र लोकसांस्कृतिक कार्यक्रमहरू सम्पन्न भइसकेका थिए। बिहानको सत्रमा ‘गाउँ बनाम शहर, शहर बनाम गाउँ’ विषयमा साहित्यकार सीके लालले एकल प्रस्तुति दिएका थिए भने त्यसपछि ‘भोजपुरी साहित्यमा गाउँ’ विषयमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताबीच विचार–विमर्श सम्पन्न भएको थियो।
महोत्सवको समापन समारोहमा मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्ण प्रमुख अतिथिका रूपमा उपस्थित छन् भने वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ।
आयोजकहरूले महोत्सवले मधेशको मौलिक पहिचान र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्दै दर्शक र साहित्यप्रेमीबाट उत्साहजनक सहभागिता पाउँदै आएको बताए।








