रेशम चौधरीको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ

वीरगंज , १८ माघ –

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा रिटको पेशी तोकिएको छ।

यसअघि सर्वोच्च अदालतले माघ ११ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चौधरीको उम्मेदवारी रद्द गर्नुको कारणबारे निर्वाचन अधिकृतको कार्यालयसँग जवाफ मागेको थियो। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले भने ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधानअनुसार चौधरीको मनोनयन खारेज गरेको जनाएको छ।

२०७२ भदौ ७ गते थारुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो। उक्त घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गरेका थिए।

पछि गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी कारागारमुक्त भएका थिए। त्यसपछि उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन्।

सम्बन्धित पोस्टहरुः