बारा–४ मा एमालेको संगठित चुनावी अभियान, प्रचार–प्रसारलाई दिइयो तीव्रता

वीरगंज , १९ माघ –

बारा निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा एमालेले चुनावी प्रचार अभियानलाई योजनाबद्ध र व्यवस्थित ढंगले अघि बढाएको छ। माघ ६ गते उत्साहजनक सहभागिताबीच मनोनयन दर्ता गरेपछि एमालेले संगठन सुदृढीकरण र मतदाता परिचालनलाई तीव्र बनाएको हो।

बारा–४ मा एमालेका तर्फबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्।

उम्मेदवार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको अभियानअन्तर्गत हालसम्म क्षेत्रीय तथा पालिकास्तरका विस्तारित बैठकहरू सम्पन्न भइसकेका छन्। क्षेत्रीय बैठकबाट एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ भने पालिकास्तरमा पनि परिचालन संयन्त्र सक्रिय बनाइएको छ।

साथै, निर्वाचन परिचालन कार्यालयहरू स्थापना गर्ने काम तीव्र गतिमा भइरहेको छ।बारा–४ अन्तर्गत ६ पालिकाका ३८ वडा पर्दछन्। जसमा जीतपुरसिमरा उपमहानगरपालिकाका १६, परवानीपुरका ५, प्रसौनीका ७, विश्रामपुरका ५, फेटाका ४ र कलैया उपमहानगरपालिकाको १ वडा समावेश छन्।

एमालेले ती सबै वडामा क्रमशः विस्तारित बैठक तथा वडास्तरीय निर्वाचन परिचालन कार्यालय स्थापना गरिरहेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–३ मा वडास्तरीय कार्यालय उद्घाटन भइसकेको छ। यसअघि शनिबार बिहान सिमरामा आयोजित कार्यक्रममा उम्मेदवार श्रेष्ठ स्वयंले क्षेत्रीय निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरेका थिए।

एमालेले संगठन, रणनीति र जनसम्पर्कलाई एकसाथ अघि बढाउँदै बारा–४ मा चुनावी अभियानलाई थप सशक्त बनाइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः