निर्वाचन आचारसंहिता उल्लङ्घन हुने सामग्री सामाजिक सञ्जालमा नहाल्न जिल्ला प्रशासन बाराको आग्रह

वीरगंज , १९ माघ –

जिल्ला प्रशासन कार्यालय बाराले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने खालका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ। निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सम्बन्धमा सोमबार सूचना जारी गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो।

सूचनाअनुसार फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन सञ्चार माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग “कुन दल वा उम्मेदवारलाई मतदान गर्नुहुन्छ ?” भन्ने जस्ता प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग हुने कार्य भइरहेको जानकारी प्राप्त भएपछि प्रशासनले ध्यानाकर्षण गराएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले यस प्रकारका गतिविधि निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (ख) विपरीत हुने स्पष्ट गरेको छ। यस्तो कार्य आचारसंहिता उल्लङ्घन अन्तर्गत पर्ने भएकाले कसैले यस प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षलाई आचारसंहिता पालना गर्न र उल्लङ्घन हुने कुनै पनि गतिविधिमा संलग्न नहुन जिल्ला प्रशासन कार्यालय बाराले अनुरोध गरेको छ।

सूचना सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत छविरमण भट्टराईद्वारा जारी गरिएको हो।

सम्बन्धित पोस्टहरुः