वीरगंज , १९ माघ –
पर्साको सखुवाप्रसुनी गाउँपालिकामा अपाङ्गता भएका महिला र किशोरीहरूको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरणका लागि समावेशी शासन र महिला तथा किशोरी सशक्तिकरण परियोजना) अन्तर्गत परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका कार्यलय, पर्सास्थित सभा हलमा आयोजना गरिएको थियो।
कार्यक्रम सखुवाप्रसुनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, सामाजिक विकास शाखा प्रमुख बिनोद यादव, आयोजक संस्था मुक्ति नेपालका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाहरू उपस्थित थिए।
उपाध्यक्ष शर्मिला बिष्ट महतोले कार्यक्रममा अपाङ्गता भएका महिला र किशोरीलाई निर्णय प्रक्रियामा सहभागी गराउन र उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। आयोजक संस्था मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहले परियोजनाले महिला र किशोरीको आत्मनिर्भरता, नेतृत्व विकास र सुरक्षित वातावरण निर्माणमा केन्द्रित रहेको जानकारी दिनुभयो।
आयोजकहरूले कार्यक्रमको मुख्य उद्देश्य समावेशी शासन प्रवर्द्धन गर्दै अपाङ्गता भएका महिला र किशोरीको सशक्तिकरणमा सहयोग पुर्याउनु रहेको बताए।







