नक्कली नोट छाप्ने गिरोहको पर्दाफास, १० जना पक्राउ

वीरगंज , २० माघ –

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले भारतीय तथा नेपाली नक्कली नोट छापिएको घटना सार्वजनिक भएको छ। भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत हरैया थानाको नेतृत्वमा गरिएको कारबाहीमा नक्कली नोट कारोबारमा संलग्न गिरोहका १० जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट करिब २५ लाख रुपैयाँ बराबरका नेपाली नक्कली नोट, १८ हजार ५०० रुपैयाँ भारतीय नक्कली नोट, एक कार, एक मोटरसाइकल तथा नक्कली नोट छाप्न प्रयोग हुने रसायन बरामद गरिएको छ।

रक्सौलका एसडिपिओ मनीष आनन्दका अनुसार गोप्य सूचनाका आधारमा सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार दुई जनाबाट भारतीय नक्कली नोट बरामद भएपछि गिरोहको भण्डाफोर भएको हो। उनीहरूको बयानका आधारमा सीतामढीको मेजरगंज क्षेत्रमा छापा मार्दा थप नक्कली नेपाली नोटसहित अन्य अभियुक्त पक्राउ परेका हुन्।

प्रहरी अनुसन्धानअनुसार गिरोहमा २० भन्दा बढी सदस्य सक्रिय रहेको र हालसम्म १० जना पक्राउ परिसकेको छ। गिरोहको मुख्य योजनाकार राकेश सिंह रहेको र उनी यसअघि लामो समय जेल बसेको व्यक्ति भएको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः