पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन : भट्टराईको उपस्थितिमा बृहत भेटघाट कार्यक्रम हुदै

पर्सा , २१ माघ –

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पर्सा–३ मा नेकपा एमालेले आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएको छ। फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै आउँदो शनिबार पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनसपति गाद्दीमाई मन्दिर परिसरमा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको छ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। आयोजकहरूले कार्यक्रमलाई पर्सा–३ मा निर्वाचन अभियानको टर्निङ प्वाइन्टको रूपमा लिएको बताएका छन्।

कार्यक्रममार्फत संगठन सुदृढीकरण, कार्यकर्ताबीच आपसी समन्वय र एकता मजबुत बनाउने साथै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। घरदैलो अभियानलाई आक्रामक बनाउने र विपक्षी पक्षले फैलाएको भ्रम चिर्ने रणनीतिबारे छलफल हुने जानकारी आयोजकहरूले दिएका छन्।

भट्टराईले कार्यक्रममा मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि एमालेको जित अपरिहार्य रहेको सन्देश दिने र पर्सा–३ लाई पार्टीको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्न कार्यकर्तालाई स्पष्ट कार्यदिशा तथा चुनावी रणनीति दिने तयारी रहेको छ।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ। एमाले नेताहरूले सामूहिक उपस्थिति र कार्यकर्ताको उत्साहले पर्सा–३ मा चुनावी माहोल थप तातिने अपेक्षा व्यक्त गरेका छन्।

कार्यक्रमलाई आगामी निर्वाचनका लागि एमालेको शक्ति प्रदर्शन र एकताबद्ध संघर्षको घोषणाका रूपमा हेरिएको छ।

सम्बन्धित पोस्टहरुः