बीरगन्ज । प्याब्सन टी–२० क्रिकेट प्रतियोगिताको रोमाञ्चक क्वार्टरफाइनल चरण सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचर र सनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेपछि अब प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्दै गएको छ।
प्रतियोगिताअन्तर्गत सेमिफाइनल चरणमा चार सशक्त टोलीबीच उपाधिको लागि कडा भिडन्त हुने निश्चित भएको छ। पहिलो सेमिफाइनल खेलमा मुनलाईट स्कूल र सेन्ट जेभियर्स स्कूल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सनलाईट मावि र गोल्डेन फ्युचर बीच प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनलमा गोल्डेन फ्युचरले बीरगन्ज एकेडेमीलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। सो खेलमा निरञ्जन यादवको प्रभावशाली प्रदर्शन निर्णायक बनेको थियो। यता सनलाईट माविले डिएभी स्कूलविरुद्ध १०३ रनको फराकिलो जित निकाल्दै आफ्नो दबदबा प्रस्तुत गर्यो, जहाँ अब्दुल मलिक अन्सारी म्यान अफ द म्याच घोषित भए।
आगामी सेमिफाइनल खेलहरूमा सबै टोली उत्कृष्ट लयमा देखिएकाले दर्शकहरूले उच्चस्तरीय र रोमाञ्चक क्रिकेटको अपेक्षा गर्न सक्नेछन्।
प्याब्सनका सचिव अशोक संग्रौलाका अनुसार सेमिफाइनल खेलहरू २० ओभरको रहने छन् । प्याब्सन पर्सा आबद्ध ४० विद्यालय सहभागी भई गत माघ ८ गतेबाट शुरु भएको १० औं संस्करणको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाईनल प्रवेश गर्ने विद्यालयहरु माघ २४ गते शनिबार आमनेसामने हुनेछन् ।









