जसपामा एकता कि चुनावी गणित? मतदाता अझै अन्योलमा

वीरगंज , २१ माघ –

जनता समाजवादी पार्टी (जसपा) भित्र देखिँदै आएको पटकपटकको एकता र फुटको श्रृंखला ले पार्टीको राजनीतिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। चुनाव नजिकिँदै जाँदा दलभित्रको अस्थिरता मतदातामा उत्साहभन्दा बढी संशय र अविश्वास पैदा गरिरहेको देखिन्छ।

उपेन्द्र यादव नेतृत्वको जसपामा कहिले एकता, कहिले विभाजन र फेरि पुनर्मिलनको अभ्यासले पार्टीको दीर्घकालीन राजनीतिक दृष्टि स्पष्ट नदेखिएको टिप्पणी हुन थालेको छ। हालै विभिन्न नेताहरूको आवत–जावत, टिकट नपाएपछि दल परिवर्तन गर्ने प्रवृत्ति र नेतृत्वबीचको शक्ति संघर्षले जसपाको ‘एकता’ चुनावी आवश्यकता मात्रै हो कि भन्ने आशंका बढाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, मधेशका मुद्दा बोकेको दाबी गर्ने पार्टीले आफ्नै संगठन स्थिर राख्न नसक्दा मतदातामा नकारात्मक सन्देश गएको छ। “पार्टीभित्रै सहमति र भरोसा नभएको अवस्थामा जनताको विश्वास कसरी जितिन्छ?” भन्ने प्रश्न सर्वसाधारणले उठाउन थालेका छन्।

स्थानीय तहमा जसपाका कार्यकर्ता र समर्थकसमेत नेतृत्वको निर्णयशैलीप्रति असन्तुष्ट देखिन्छन्। कतिपयले पटक–पटकको फुटलाई नेतृत्व केन्द्रित राजनीति र अवसरवाद को परिणामका रूपमा व्याख्या गरेका छन्।

चुनावी समीकरणमा जसपा अझै निर्णायक भूमिका खेल्न सक्ने सम्भावना भए पनि, दलभित्रको अस्थिरता र अस्पष्ट दिशाले मतदातालाई आकर्षित गर्न गाह्रो पर्ने संकेत देखिएको छ। विश्लेषकहरू भन्छन्— “जसपाको मुख्य चुनौती विपक्षी होइन, आफ्नै आन्तरिक अस्थिरता हो।”

सम्बन्धित पोस्टहरुः