वार्मअप खेलमा नेपालको दबदबा, यूएईलाई ७ विकेटले पराजित

वीरगंज , २१ माघ –

आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप खेलिएको वार्मअप खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) माथि प्रभावशाली जित निकालेको छ। चेन्नईमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै आत्मविश्वास बढाएको हो।

पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा १४५ रन मात्रै जोड्न सक्यो। यूएईका लागि सोएब खान र हर्षित कौशिकले उपयोगी योगदान दिए पनि नेपाली बलरहरूको कसीलो प्रदर्शनले ठूलो स्कोर बन्न दिएन। नेपालका करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिएर यूएईको ब्याटिङ लाइनअपलाई दबाबमा राखे।

जवाफमा नेपालले लक्ष्य सहजै भेट्टायो। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपाली इनिङ्सलाई मजबुत बनाए। कप्तान रोहितकुमार पौडेलको संयमित साथपछि नेपालले १७ ओभरमै खेल आफ्नो पक्षमा पारेको हो।

यस जितसँगै नेपालले विश्वकपअघि तयारी राम्रो लयमा अघि बढाएको संकेत दिएको छ। नेपालले अब अर्को वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ, जहाँ टोलीले अन्तिम संयोजन र रणनीति थप परिष्कृत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः