वीरगंज , २१ माघ –
मधेस प्रदेशमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महिला उम्मेदवारको सहभागिता यसपटक उल्लेख्य देखिएको छ।
निर्वाचन आयोगको विवरणअनुसार प्रदेशका आठ जिल्लाबाट ११० जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ६८ जना स्वतन्त्र र ४२ जना दलगत उम्मेदवार रहेका छन्।
जिल्लागत रूपमा हेर्दा सप्तरीबाट सबैभन्दा बढी २० जना महिला उम्मेदवार दर्ता भएका छन् भने सर्लाहीमा सबैभन्दा कम ७ जना महिला उम्मेदवार छन्।
पर्सामा १२, बारामा १६, रौतहटमा १३, महोत्तरीमा १९, धनुषामा १५ र सिराहामा ८ जना महिला उम्मेदवार मैदानमा उत्रिएका छन्।
दर्ता भएका उम्मेदवारमध्ये धेरैजसो स्वतन्त्र देखिनुले दलप्रति असन्तुष्टि र व्यक्तिगत पहिचानसहित चुनावी प्रतिस्पर्धामा उत्रिने महिलाको संख्या बढ्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। उनीहरूका अनुसार यो तथ्यले मधेसमा महिला राजनीतिक सहभागिता मात्र होइन, चुनावी विकल्पको खोजी पनि तीव्र बन्दै गएको देखाउँछ।
यसपटकको निर्वाचनमा महिला उम्मेदवारको संख्या र स्वतन्त्र उम्मेदवारीको वृद्धि मधेसको राजनीतिक परिदृश्यमा नयाँ सन्देशका रूपमा हेरिएको छ।









