वीरगंज , २१ माघ–
नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार अनिल रूँगटाले चुनावी अभियानका क्रममा आफू प्रचारमुखीभन्दा परिणाममुखी राजनीतिमा विश्वास गर्ने नेता भएको बताएका छन्। वीरगंज महानगरपालिका–१६ नगवामा आयोजित कार्यक्रममा उनले कम बोल्ने तर देखिने काम गर्ने शैलीलाई प्राथमिकता दिने स्पष्ट पारे।
मतदातासँगको भेटघाटमा रूँगटाले विकास, सेवा प्रवाह र जनसमस्याको समाधान भाषणबाट होइन, व्यवहारिक कामबाट सम्भव हुने धारणा राखे। उनले क्षेत्रका समस्या समाधानका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रम बूथ सभापति बाबुनन्द चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कांग्रेस पर्साका कावा सभापति रामनारायण कुमर्मी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
नेताहरूले रूँगटाको उम्मेदवारीलाई स्थिर, जिम्मेवार र कामकाजी नेतृत्वको विकल्पका रूपमा चित्रण गर्दै निर्वाचनमा जनसमर्थन बढ्दै गएको दाबी गरेका छन्।








