पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन

वीरगञ्ज, २२ माघः जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय लगायतका टोलीले मतदानस्थल तथा केन्द्रहरुको निरीक्षण र सम्भावित सुरक्षा जोखिमको आवश्यक पूर्व तयारीमा जुटेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले यहाँको १६७ मतदानस्थलमध्ये ६० को निरीक्षण गरिसकेको जनाउँदै सो मतदानस्थलको लागि आवश्यक सुरक्षा रणनीति बनाउने काम भइरहेको जानकारी दिनुभयो ।

‘‘अहिले दैनिक रुपमा मतदानस्थलको निरीक्षण गरेर त्यहाँ देखिएको सुरक्षा चुनौतीको लागि थप रणनीति बनाउने काम भइरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘अहिले दैनिक दिनको १ बजेपछिको समयमा मतदानस्थलको अनुगमन र निरीक्षण गर्ने काम भइरहेको छ । निरीक्षणमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा रणनीति बनाउने काम पनि भइरहेको छ ।’’

प्रजिअ दाहालले जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।‘‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नका लागि सबै निकायले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरेर अघि बढ्नका लागि जरुरत रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचन आचारसंहिता उम्मेदवार, आम जनता र सञ्चारकर्मी लगायतले पनि पालना गर्नका लागि अनुरोध गर्दछौँ ।’’

जिल्लाको एक सय ७ किलोमिटर खुल्ला सीमा नाका भएकाले पनि निर्वाचनको बेला शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने प्रयास गरिरहेको प्रजिअ दाहालले बताउनुभयो । पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले निर्वाचनको लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिएको बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धित प्रचारप्रसारमुलुक कार्यक्रम अघि बढाउन लागिएको बताउनुभयो ।‘‘निर्वाचन आचारसंहिताले निर्वाचनमा उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन । सोतर्फ उम्मेदवारहरुले सचेत हुन जरुरी छ ।’’

जिल्लाभरि रहेका १६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् । यहाँ चार निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन् । पर्सा जिल्लामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन् । तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अलल्पसङ्ख्यक समुदायका मतदाता छन् । रासस

सम्बन्धित पोस्टहरुः