वीरगंज , २३ माघ –
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन्। हिजो बेलुकी पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीकै बडगाउँ मोडमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको मृत्यु भएको छ।
घाइतेहरूको स्थानीय अस्पताल, जिल्ला अस्पताल तथा डडेलधुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उकालो सडकमा क्षमताभन्दा बढी भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









