बीरगंज-३१ जसपाका नेता–कार्यकर्ता एमालेमा समाहित

बीरगंज – २४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बीरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवामा शनिबार नेकपा एमालेद्वारा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ।

पर्सा–१ का नेकपा एमाले उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी उपाध्यक्ष कुर्बान खानको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा कुर्बान खानसँगै अब्दुल रहमान अन्सारी, खलिल अन्सारी, लाल खान, आजाद अन्सारी, सदरे आलम, सकिना खातुनलगायतका नेताहरू रहेका छन्।

कार्यक्रमका क्रममा नवप्रवेशीहरूलाई एमाले उम्मेदवार प्रदीप यादवले अबिर टीका लगाएर पार्टीमा स्वागत गरे। सो अवसरमा सम्बोधन गर्दै यादवले मधेसका सवालहरूको संरक्षण र समाधानका लागि आफू एमालेमा आएको स्पष्ट पारे। एमाले नै मधेसका मुद्दा सम्बोधन गर्न सक्षम शक्ति भएको उनको भनाइ थियो।

देश अहिले गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै यादवले राष्ट्र र राष्ट्रियताको रक्षा गर्न एमालेको विजय अपरिहार्य रहेको बताए।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेशसभा पूर्व सदस्य जन्नत अन्सारी, एमाले नेता सुन्दर कुर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः