वीरगंज महानगरपालिकाको मुख्य व्यापारिक क्षेत्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ।
राजस्व छलीको आशंकामा गरिएको छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगंज भन्सारमा कार्यरत नायब उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा गोदाममा खानतलासी सुरु गरिएको थियो।
सो क्रममा व्यापारीहरूले बिलबिजक भएको दाबी गर्दै विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो।
आक्रोशित समूहले ढुङ्गामुढा गरेपछि झडप भएको र त्यसक्रममा सशस्त्र प्रहरीको गाडीको अगाडिको सिसा फुट्नुका साथै एकजना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
सशस्त्र प्रहरीले गोदामबाट केही सामान नियन्त्रणमा लिए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन। गोदामको स्वामित्व र सामानको प्रकृतिबारे अनुसन्धान जारी रहेको अधिकारीको भनाइ छ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।









