रास्वपाका उम्मेदवार कानुको बारवामा घरदैलो सम्पन्न  

पर्सा,२६ माघ-

पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं. १९ बिन्दवासनी बारवामा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन लक्षित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ नागरिक, जेन्जी युवाहरू र स्थानीय महिलासमेतको सहभागितामा रास्वपा उम्मेदवार सुशील कानुले घरदैलो गरे।

कार्यक्रमका क्रममा स्थानीयवासीले वर्षायाममा नजिकैको नदीमा बाढी आउँदा खेतीयोग्य जग्गामा क्षति हुने गुनासो सुनाए। यसमा कानुले आफू निर्वाचित भए सदनमा समस्या उठाउने र दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनी बेरोजगारीको चुनौतीलाई पनि प्राथमिकता दिएको बताउँदै, घरमै बस्न बाध्य महिला र युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सुनाए। कानुले महिलालाई उच्च सीप तालिम प्रदान गरेर रोजगार तथा आयआर्जनका अवसर उपलब्ध गराउने वाचा पनि गरे।

उम्मेदवार कानुले कृषकका लागि वर्षाको पानी र नदीबाट हुने क्षति न्यूनीकरण तथा मलखाद समयमै उपलब्ध गराउने व्यवस्था मिलाइने बताए। उनले कृषि उत्पादन बढाएर किसानको जीवनस्तर उकास्न आफ्नो प्रमुख एजेन्डा रहेको पनि जनाए।

सम्बन्धित पोस्टहरुः