वीरगंज,२६ माघ –
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले आफ्नो नेतृत्वकालमा खानेपानी र सरसफाइ क्षेत्रमा देखाएको सक्रियता र परिणाममुखी कामले स्थानीय मतदातामा सकारात्मक प्रभाव पारेको छ।
गत वर्ष असार ३१ गते जिम्मेवारी सम्हालेपछि यादवले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत रिवर्मा खोलाबाट पानी पथान्तरण गरी वर्षभरि नियमित आपूर्ति सुनिश्चित गरेका थिए।
त्यसैगरी, उपत्यकामा ८६ वटा नयाँ खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा ल्याउनु, उर्लाबारी र बेलडाँगी आयोजना अघि बढाउनु, पाँच प्याकेजमार्फत मेलम्ची विस्तार र सुन्दरीजल पानी प्रशोधन केन्द्रको निर्माण सुरु गर्नु लगायतका ठोस कामले जनविश्वास थप बढाएको छ।
वीरगंज महानगरपालिका र ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै २५० भन्दा बढी डिप बोरिङ निर्माण, घर–घर पाइपलाइनमार्फत पानी पूर्याउने काम, सडक विस्तार, प्रवेशद्वार निर्माण र सौन्दर्यीकरण कार्यहरू सम्पन्न गरिएका छन्। यिनले स्थानीय जीवनस्तर सुधार्न ठूलो भूमिका खेलेको जनताले बताएका छन्।
साथै, यादवको नेतृत्वमा खानेपानी तथा सरसफाइ विभागका अस्थायी आयोजना स्थायी कार्यालयमा परिणत भएका, नियमावली लागू भएका र सहलगानी शुल्क घटाएर जनसहभागिता बढाइएको छ।
स्थानीय विश्लेषकहरूले भन्छन्, “यी ठोस उपलब्धि र जनताप्रतिको समर्पणको कारण यसपटक पर्सा–१ मा प्रदीप यादव नै मतदाताको पहिलो रोजाइ बन्ने देखिन्छ।”









