वीरगंज , २७ माघ –
अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
वीरगंज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार वीरगंज महानगरपालिकाको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणमा परेका थिए। उक्त झडपमा तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो।
प्रहरीका अनुसार भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडाको खानतलासीका क्रममा झडप भएको हो। सो स्थानबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको जनाएको छ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने अवैध कारोबार र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।









