वीरगंजमा खानेपानीको हाहाकार तत्काल समाधान, पूर्व मन्त्री यादवको योगदान स्मरण

वीरगंज, २७ माघ –

पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार पूर्व खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा खानेपानीको हाहाकार हुँदा तत्काल प्रभावमा बोरिङ गाड्ने काम सुरु गराएको स्मरण गराएका छन्।

वीरगंज–३० टेढा रामवनमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले भने, “जुन बेला वीरगंजमा पानीको समस्या थियो, त्यतिबेला म खानेपानी मन्त्री थिएँ। थाहा पाउने बित्तिकै २४ घण्टाभित्रै डीप बोरिङ गाड्ने काम सुरु गराएँ र घर–घरमा पानी खुवाउने व्यवस्था गरेँ।”

पूर्व मन्त्री यादवले यसअघि ४५० करोड बजेट वीरगंज महानगरपालिकामा पठाएर खानेपानी आयोजना निर्माणका लागि टेन्डर निकालिसकेको र तीन वर्षभित्र आयोजना सम्पन्न भएपछि शहरमा कहिल्यै पानीको समस्या नहुने बताए। उनले कोरोना महामारीमा जनताको स्वास्थ्य र जीवन रक्षा गर्न पनि सक्रिय भूमिका निभाएको स्मरण गराए।

यादवले यसपटकको उम्मेदवारी संविधानको रक्षा र मधेसका अधिकार सुरक्षित गर्नका लागि भएको बताए। उनले मतदातालाई अपिल गर्दै भने, “एमालेले जितेपछि मधेस, महिला, दलित र थारुको अधिकार सुरक्षित रहन्छ। मत दिई मलाई विजयी गराउनुहोस्, म मधेसका अधिकारको रक्षा गर्नेछु।”

साथै उनले मधेससँग सम्बन्धित बाँकी मुद्दा सम्बोधनका लागि आवश्यक परे संविधान संशोधनसमेत गरिने र त्यसका लागि एमालेको जीत आवश्यक रहेकोमा जोड दिए।

सम्बन्धित पोस्टहरुः