वीरगञ्ज, २७ माघ । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा खानेपानीको हाहाकार भएका बेला काठमाडौँबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन् ।
वीरगञ्ज–३० टेढा राम वनमा मङ्गलवार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू जनताकै माझमा आएर काम गरेको बताए ।
उनले भने, ‘जुन समयमा वीरगञ्जमा खानेपानीको हाहाकार भएको थियो । त्यो बेला म संयोगले खानेपानी मन्त्री नै थिए । त्यो थाहा पाउने बित्तिकै म वीरगञ्ज आए । वीरगञ्ज आएको २४ घण्टाभित्रै टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराए ।घरघरमा पानी खुवाउने काम गरे ।’
एमाले उम्मेदवारले अहिले वीरगञ्जमा कुनै पनि टोलमा खानेपानीको समस्या नरहेको पनि बताए । उनले वीरगञ्जमा खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि त्यस बेला नै खानेपानी मन्त्रालयमार्फत ४ सय ५० करोड बजेट वीरगञ्ज महानगरपालिकामा पठाएको र त्यो बजेटबाट खानेपानी आयोजना निर्माणका लागि टेन्डर निकालेर काम पनि सुरु भइसकेको उनले बताए । उनले भने,‘ यो आयोजना ३ वर्षभित्रमा सम्पन्न हुन्छ । त्यसपछि वीरगञ्जमा कहिल्यै पनि खानेपानीको समस्या हुँदैन ।’
त्यति मात्र नभई कोरोनाको महामारीका बेला आफ्नो ज्यान समेत दाउमा राखेर यादवले जनताको जीउ ज्यान रक्षाका लागि काम गरेको स्मरण गराए ।
यादवले संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि आफूले यसपालि उम्मेदवारी दिएको बताए । उनले भने, ‘मेरो उम्मेदवारी संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि हो । संविधान जोगियो भने मात्रै अहिलेसम्म प्राप्त मधेसका अधिकार जोगिन्छ । मधेसी, महिला, दलित, थारुको अधिकार सुरक्षित रहन्छ । यदि एमालेले जितेन भने मधेसका अधिकार खोसिने खतरा पनि छ । त्यसका कारण मलाई जिताएर पठाउनुस् मधेसको अधिकार म सुरक्षित गराउँछु ।’
एमाले उम्मेदवार यादवले सम्बोधन हुन बाँकी रहेका मधेसका अधिकार सम्बोधन गराउन संविधान संशोधन पनि गराउनुपर्ने आवश्यक रहेको र त्यसका लागि पनि एमालेलाई जनताले जिताएर पठाउनुपर्नेमा उनले जोड दिए ।









