भारत , २७ माघ –
तेजस नेटवक्र्सका सहसंस्थापक अर्नव रोयका लागि कम्प्युटर चिपको भरपर्दो आपूर्ति अत्यन्तै आवश्यक छ। मोबाइल नेटवर्क र ब्रोडब्यान्ड उपकरण आपूर्ति गर्ने कम्पनीले अहिले चिप डिजाइयन भारतमै गर्छ तर उत्पादनका लागि विदेशी फ्याक्ट्रीमा पठाउनुपर्छ।
रोयका अनुसार टेलिकम चिपहरूले सयौं हजार प्रयोगकर्ताबाट आउने ठूलो डेटा सम्हाल्नुपर्छ र नेटवर्क बन्द नहुने सुनिश्चित गर्न उच्च विश्वसनीयता, सुरक्षा प्रणाली र फेल–सेफ डिजाइन आवश्यक हुन्छ। भारतले डिजाइयनमा बलियो भए पनि, फ्याब्रिकेशन र अत्याधुनिक चिप उत्पादनमा विदेशी निर्भरता रहेको छ।
कोभिड–१९ महामारीले सेमिकन्डक्टर आपूर्ति शृङ्खलाको कमजोरी देखाएपछि भारतले आफ्नै उत्पादन प्रणाली विकासमा कदम चाल्न थाल्यो। नयाँ कारखानाहरूले एसेम्ब्ली, प्याकेजिङ र टेस्टिङको काम सुरु गरिसकेका छन्। सन् २०२३ मा स्थापना भएको कायनेस सेमिकनले गुजरातमा २६ करोड डलर लगानीमा चिप एसेम्ब्ली र टेस्टिङको प्लान्ट सञ्चालनमा ल्याएको छ।
कम्पनीले यहाँ उत्पादन गर्ने चिपहरू मोबाइल फोन वा एआई जस्ता अत्याधुनिक चिप होइनन्, तर कार, रक्षा र टेलिकम उद्योगका लागि महत्त्वपूर्ण हुने बताइएको छ।
रोयका अनुसार “आउँदो एक दशकभित्र भारतमा सेमिकन्डक्टर उत्पादनको ठोस आधार तयार हुनेछ र यसले स्थानीय कम्पनीहरूलाई प्रत्यक्ष लाभ पुर्याउनेछ।” तर त्यसका लागि धैर्यशील लगानी र समय आवश्यक छ।
भारतमा स्वदेशी चिप उत्पादनको यो प्रयास कम्प्युटर चिप उद्योगमा दीर्घकालीन आत्मनिर्भरता र रणनीतिक सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण रहेको विश्लेषकहरूले बताएका छन्।









