आदर्शनगर घटनाले सुरक्षामा दिएको गम्भीर चेतावनी

वीरगंज / वीरगंजको आदर्शनगरमा सशस्त्र प्रहरीमाथि हिजो भएको आक्रमण केवल एउटा आपराधिक घटना मात्र होइन, यो राज्यको कानूनी शासनमाथिको खुला चुनौती भएको प्रहरीका उच्च अधिकारीहरूले आआफ्ना सामाजिक सञ्जाल फेसबूकमार्फत प्रतिक्रिया दिन थालेका छन् ।

जब कानून कार्यान्वयन गर्ने निकाय स्वयम् असुरक्षित हुन्छ, तब सर्वसाधारण नागरिक कति सुरक्षित होलान् भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्ने ती अधिकारीहरूले लेखेका छन् ।

पूर्वडिआइजी रमेश खरेलका अनुसार यदि राज्यको उपस्थिति कागजमा मात्र सीमित भयो भने अपराधीहरू अझ साहसी बन्छन् । सीमावर्ती क्षेत्रमा तस्करी व्यवसाय जस्तै मौलाउनु र सुरक्षाकर्मीमाथि नै हात उठ्नु सामान्य अवस्था होइन । यो स्पष्ट सङ्केत हो कि अपराधीहरू आफूलाई कानूनभन्दा माथि रहेको ठान्न थालेका छन् ।

यसको जड राजनीतिक संरक्षण, कमजोर निर्देशन र सुरक्षाकर्मीलाई आवश्यक स्रोतसाधन तथा कानूनी ढाल नहुनु हो । जबसम्म यो संरक्षणको जालो तोडिंदैन, तबसम्म यस्ता घटनाहरू देशभरि दोहोरिरहन्छन्, उनले लेखेका छन्, आज प्रहरी कुटिन्छन्, भोलि पत्रकार, व्यापारी वा सर्वसाधारण नागरिक निशानामा पर्न सक्छन् ।

कानून सबैभन्दा माथि हुनुपर्छ– व्यक्ति, समूह वा राजनीतिक स्वार्थभन्दा माथि । डर अपराधीलाई होइन, अपराधीले कानूनलाई मान्न बाध्य हुने वातावरण राज्यले निर्माण गर्नुपर्छ । यदि आज कडा सन्देश गएन भने, भोलि राज्यको उपस्थिति झनै कमजोर हुँदै जानेछ ।

अब मौन बस्ने समय होइन । कानूनको शासन स्थापित गर्न राज्यले आफ्नो दायित्व पूरा गर्नैपर्छ । सशस्त्र प्रहरीमाथि आक्रमण, गाडी तोडफोड गर्नु सुरक्षा चुनौती भएको उनले भनेका छन् ।

सोही विषयमा हिजो वीरगंजमा भएको घटनालाई लिएर आज प्रदेश सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले यो घटनालाई गम्भीररूपमा लिएको र कानूनविपरीतको यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि कडा कदम चाल्ने निर्णयसमेत गरेको छ ।

घटनामा चारजना पक्राउ परे पनि मुख्य योजनाकार तस्कर माफिया मदन रुन्चे फरार छन् । गुप्तालाई बचाउन केही दलका नेताहरू लागिपरे पनि कुनै असर नपर्ने पर्साका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित पोस्टहरुः