सबैयाको बाँकी पदको लागि फागुन २ गते चुनाव हुने

परवानीपुर / पर्साको सबैया साझेदारी वन उपभोक्ता समूहको बाँकी रहेका पदको लागि चुनाव हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत एवं पर्सा जिल्ला अदालत बार एशोसिएशन पर्साका अध्यक्ष रामनारायण कुर्मीले दिएको जानकारी अनुसार १६ सदस्यीय पदाधिकारीमध्ये आठ पदको लागि आपसी सहमतिको आधारमा पदाधिकारी निर्वाचित भइसकेको र बाँकी खुल्लातर्फ सात सदस्य र मधेसीतर्फ एक सदस्यीय गरी कुल आठ सदस्यको निर्वाचन आगामी फागुन २ गते बिहान ९ देखि साँझ ५ बजेसम्म सबैयामा हुनेछ ।

निर्वाचन समितिले माघ २५ गते सूचना प्रकाशित गरी निर्वाचनको लागि समयतालिका तोकेको जनाइएको छ । एउटा वडाबाट सातजना प्रतिनिधि रहने हुँदा वीरगंज महानगरका ३२ वटा वडाबाट करीब २२४ जना मतदाता रहेको सबैयाको साधारणसभा विगतमा अदालती प्रक्रियाका कारण हुन सकिरहेको थिएन । अदालतबाट साधारणसभा गर्ने टुङ्गो लागेपछि गत माघ १५ गते समूहको २२औं साधारणसभा सम्पन्न भएको थियो । बन्दसत्रबाट अध्यक्षमा चारजनाको उम्मेदवारी परेकामा लखनलाल साह निर्विरोध निर्वाचित भएका थिए ।

त्यसैगरी, उपाध्यक्षमा एकल उम्मेदवारी असलम आलमको मात्र परेकोले उनी स्वतः निर्वाचित भए । त्यसैगरी, महिलातर्फ छजनाको उम्मेदवारी परेकामा आपसी सहमतिमा तीनजना, दलिततर्फ तीनजनाको उम्मेदवारी परेकामा एकजना, आदिवासी जनजातितर्फ छजनाको उम्मेदवारी परेकामा एकजनासमेत निर्विरोध निर्वाचित भएका थिए ।

बाँकी पदमा खुल्लातर्फ सात सदस्यको लागि ४० जनाको उम्मेदवारी परेको छ भने मधेसी एक सदस्यको लागि दुईजनाको उम्मेदवारी परेको छ । आपसी वार्तामार्फत सहमति खोज्ने प्रयास भएपनि कुनै सहमति जुट्न नसक्दा समूहको नयाँ कार्यसमिति चयनको प्रक्रिया निर्वाचनमा धकेलिएको हो ।

सम्बन्धित पोस्टहरुः