परवानीपुर / पर्सा प्रहरी मातहत कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राजदेव यादव जन्तीको नाचमा अमर्यादित गतिविधि गरेको आरोपपछि कारबाहीमा परेका छन् ।
केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा असई यादव जन्तीको नाचका क्रममा तेस्रोलिङ्गी कलाकारसँग मदिरासेवन गर्दै पैसा लुटाइरहेको तथा अनुचित व्यवहार गरिरहेको देखिन्छन् । उक्त भिडियो सार्वजनिक भएपछि पर्सा प्रहरीले घटनाको छानबीन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरी चौकी टिहुकीका इन्चार्जको रूपमा कार्यरत असई यादवले गत माघ १९ गते राति छिपहरमाई गाउँपालिका–२ भेडिअर्वा गाउँमा दसौता गाउँबाट आएको एक जन्तीको नाचको क्रममा प्रहरी आचरणविपरीत गतिविधि गरेको भन्दै स्थानीयवासीले पर्सा प्रहरीमा उजूरी गरेका थिए ।
उजूरी एवं भिडियोको आधारमा छानबीन गर्दा प्रहरी आचारसंहिताविपरीत कार्य गरेको देखिएपछि असई यादवलाई इलाका प्रहरी कार्यालय, पोखरियामा तानेर आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइएको पर्सा प्रहरी मातहतका एक प्रहरी अधिकृतले जानकारी दिए ।









