वीरगंज , २८ माघ –
देशमा सुशासन र भ्रष्टाचार न्यूनीकरणको एजेन्डा चर्चामा रहेको बेला बाराको प्रसौनी गाउँपालिका अन्तर्गत बेङ्गा साह माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीसँग शुल्क असुली भइरहेको सूचना बाहिरिएको छ।
प्रसौनी बजारदेखि करिब सय मिटर पूर्वमा रहेको उक्त विद्यालयको अङ्ग्रेजी माध्यमतर्फ कक्षा ८ मा अध्ययनरत विद्यार्थीबाट रजिस्ट्रेशन शुल्कको नाममा प्रतिविद्यार्थी रु तीन सय असुल गरिएको अभिभावकहरूको गुनासो छ। नेपाल सरकारले माध्यमिक शिक्षा परीक्षासम्म शिक्षा निश्शुल्क घोषणा गरेको अवस्थामा शुल्क उठाइनु नियमविपरीत भएको उनीहरूको आरोप छ।
सो कार्यमा गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको मिलेमतो रहेको स्थानीय स्रोतको दाबी छ। शिक्षा शाखा प्रमुख सन्तोष रौनियारको संलग्नतामा आन्तरिक समझदारीका आधारमा शुल्क उठाइएको विद्यार्थीहरूको आरोप रहेको बताइएको छ।
स्थानीय शिक्षाप्रेमीहरूले सरकारको निश्शुल्क शिक्षा नीतिविपरीत विभिन्न बहानामा शुल्क उठाइनु दुःखद भएको प्रतिक्रिया दिएका छन्। सुशासन र पारदर्शिताको प्रतिबद्धता व्यक्त गर्दै आएको गाउँपालिकामा यस्ता गतिविधि हुनु जनप्रतिनिधिहरूकै छविमाथि प्रश्न उठाउने खालको भएको उनीहरूको भनाइ छ।
विद्यालयकी लेखापाल निशाकुमारी साहले शुल्क उठाइएको स्वीकार गर्दै उक्त रकम प्रयोगात्मक परीक्षाका लागि लिइएको बताइन्। उनले शुल्क असुली प्रक्रियामा कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाइन्।
यता शिक्षा शाखा प्रमुख रौनियारले शुल्क उठाउन नहुने स्पष्ट नियम लागू नभएको दाबी गर्दै विषयबारे आफूलाई विस्तृत जानकारी नरहेको र बुझेर जानकारी दिने प्रतिक्रिया दिएका छन्।








