वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई ५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो।
महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले महानगरले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । यस्ता सहकार्यात्मक पहलले समावेशी शिक्षा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जानकारी दिँदै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार रातो र निलो परिचयपत्रधारी अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट मासिक भत्ता पाउने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारीले आर्थिक सहयोग नपाउने अवस्था रहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य शैक्षिक आवश्यकताका लागि सहयोग उपलब्ध गराउँदै आएको उहाँले स्पष्ट पार्नुभयो ।
सहयोग प्राप्त गर्ने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन् । अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको पढाइलाई निरन्तरता दिन सहज हुने र थप हौसला मिल्ने बताएका छन् ।
महानगर र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।








