वीरगंज , २ फागुन –
पर्सा–१ का नेकपा (एमाले) उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१२ र १३ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक पूर्वाधार र रोजगारी सिर्जनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादवले विगतमा पर्सा जिल्लामा निर्वाचित सांसद र मन्त्रीको रूपमा गरेको विकास कार्यको स्मरण गर्दै सडक सुधार, विद्यालय र स्वास्थ्य संस्था विकास, सामाजिक कल्याण योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएको बताए। उनले समावेशी विकास, सुशासन, महिला तथा सामाजिक समूह संरक्षणमा पनि जोड दिनुपर्ने बताए।
कार्यक्रममा नेकपा (एमाले) का नेता, कार्यकर्ता, स्थानीय समर्थक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यादवले मतदातालाई सूर्य चिन्हमा मतदान गरी पार्टीलाई समर्थन गर्न आग्रह गर्दै “समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित हामी तपाईँहरूसँगै अघि बढ्नेछौँ” भने।









