वीरगंज , २ फागुन –
नेपाल उद्योग परिसंघ (सीएनआई) ले औद्योगिक विकास र कानूनी सुधारमार्फत आगामी १० वर्षभित्र देशको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हाल करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक रूपमा विस्तार गर्न औद्योगिक उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र कानूनी अवरोध हटाउनु अनिवार्य रहेको बताए।
‘स्वदेशी नेपालः मिट एण्ड ग्रेट–२०२६’ कार्यक्रममा बोल्दै उनले लगानीमैत्री वातावरण निर्माण, उद्योगमैत्री कानून संशोधन र रोजगारी सिर्जनामा जोड दिए। अर्थतन्त्रको विकासमा बाधक बनेका कानून संशोधनका लागि परिसंघले दफासहित सुझाव सरकारलाई बुझाइसकेको उनले जानकारी दिए।
परिसंघले संयुक्त राष्ट्र संघ पुँजी विकास कोषसँगको सहकार्यमा ‘एगोरा’ प्लेटफर्ममार्फत नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। साथै स्वदेशी उद्योग संरक्षणका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रवर्द्धन तथा सरकारी निकायमार्फत स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने मागसमेत अघि सारेको छ।









