नवलपुर (नवलपरासी), २ फागुनः नवलपुरको गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।
पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध लुम्बिनी प्रदेशले सात विकेटको जित निकालेको हो । वाग्मती प्रदेशले दिएको १०४ रनको चुनौती लुम्बिनीले १२ दशमलव चार ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । यसअघि टस हारेर ब्याटिङ गरेको वाग्मती प्रदेशले २० ओभरमा आठ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीको जितका लागि आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा तीन छक्का र सात चौकाको मद्दतमा अविजित ५९ रन बनाए । सुमीत श्रेष्ठले १६ बलमा एक छक्का र दुई चौकासहित १९, कप्तान देव खनालले १३ बलमा दुई छक्कासहित १८ र पवन थापाले १३ बलमा एक चौकासहित ६ रनको योगदान दिए ।
उक्त खेलमा वाग्मती प्रदेशका कप्तान इशान पाण्डेले तीन विकेट लिए ।
सुरुआती ब्याटिङमा उत्रिएको वाग्मती प्रदेशका ब्याटर उत्तम थापा मगरले ४२ बल खेल्दै चार चौकाको मद्दतमा ३८ रन बनाए । सुमन सुनारले १८, सोनु देवकोटाले १४, रोशन विकले १०, शुभ कङ्शकारले १० रन बनाए । बलिङतर्फ लुम्बिनीका सलाहुद्दिन खानले चार तथा वीरबहादुर घर्ती मगरले दुई विकेट लिए ।
त्यसैगरी, प्रतियोगिताको दोस्रो खेलमा गण्डकी प्रदेशविरुद्ध मधेश प्रदेशले ५७ रनको जित निकाल्यो । टस हारेर ब्याटिङको निम्ता पाएको मधेश प्रदेशले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १६९ रन बनायो । एक सय ७० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेश १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटियो ।
मधेशका लागि मोहम्मद आदिल आलमले ३१ बलमा ६ छक्का र दुई चौकासहित ४९ रनको योगदान दिए । पवन सार्राफले ३१, विशाल पटेलले १८, अविशेक तिवारीले १४, अरनिकोप्रसाद यादवले १३ र मयन यादवले १२ रन बनाए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारीले चार, सुदीप अर्याल र कृष्ण पौडेलले दुई÷दुई विकेट लिए ।
ब्याटिङतर्फ गण्डकीका लागि अरुण कुमालले २४ बलमा एक छक्का र चार चौकासहित ३१, कप्तान विपीन खत्रीले १५ बलमा तीन छक्कासहित २६, सन्दीप खत्री क्षेत्रीले १७ बलमा एक छक्का र एक चौकासहित १७ तथा कमल परियारले १० बलमा १० रन बनाए । बलिङतर्फ मधेशका रञ्जित कुमारले पाँच, आदिल आलमले तीन तथा विशाल पटेलले दुई विकेट लिए ।
राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेश तथा आयोजक गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’ले रु २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले जनही रु १५ हजार पुरस्कार पाउनेछन् ।








