पर्सा–१ मा ५ सयभन्दा बढी रास्वपामा प्रवेश

वीरगंज , ३ फागुन –

पर्सामा टोल–टोलका स्थानीयले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधि खोज्दै पार्टी प्रवेश गर्न थालेका छन्। वरिष्ठ नेता बालेन साह को वीरगञ्ज रोड–शोपछि यहाँ रास्वपाप्रतिको आकर्षण ह्वात्तै बढेको बताइएको छ।

यसै क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शुक्रबार राति परवानीपुर र शनिबार बिहान विश्वामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पेशा, अभियन्ता र समाजसेवी गरी ५ सयभन्दा बढी व्यक्तिले रास्वपामा प्रवेश गरेका छन्। परवानीपुरमा स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा कार्यक्रम भएको थियो भने विश्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा अर्को कार्यक्रम आयोजना गरिएको थियो।

नवप्रवेशीहरूलाई रास्वपा पर्सा जिल्ला सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्त ले टीका, माला र खदासहित पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै पन्तले पुराना दल र तिनका उम्मेदवारलाई यसपटकको निर्वाचनमा बहिष्कार गर्न मतदातासँग आग्रह गरे।

यस्तै, शनिबार नै पन्तले गहवामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरे। घरदैलोका क्रममा स्थानीयले विभिन्न स्थानमा टीका, माला र खदासहित स्वागत गरेका थिए। कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः