वीरगंज , ३ फागुन –
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा सुशिल कुमार कानु ले पर्सागढी नगरपालिका–६ चैनपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार कानुले मतदाताको घर–घर पुगेर स्थानीय समस्या बुझ्दै, विगतका कमजोरी र अपूर्ण कामका बारेमा सुझाव लिएका थिए। उनले रास्वपा को नीति, सिद्धान्त र भावी योजना प्रस्तुत गर्दै शिक्षा सुधार, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, युवा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र स्थानीय पूर्वाधार विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताएका छन्।
स्थानीय मतदाताले नयाँ राजनीतिक विकल्पप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका छन्। घरदैलो कार्यक्रममा युवा, व्यवसायी, कृषक र विभिन्न पेशाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले आगामी निर्वाचनमा विकासमुखी र जनउत्तरदायी नेतृत्व लाई समर्थन गर्ने धारणा व्यक्त गरेका छन्।
कानुले जनताको सुझाव र आवश्यकतालाई चुनावी घोषणापत्रमा समेट्ने प्रतिबद्धता जनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिने बताएका छन्।









