वीरगंज , ५ फागुन —
आगामी प्रतिनिधि सभा निर्वाचनमा मधेशका केही मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएका छन्। यसअघि हुने स्थानीय तथा प्रतिनिधि सभा निर्वाचनमा ती मतदान केन्द्रमा सुरक्षा चुनौती उत्पन्न भएको इतिहास रहँदा निर्वाचन आयोगले पूर्व अनुभवलाई ध्यानमा राखेर यस्तो कदम चाल्ने निर्णय गरेको हो।
वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा रौतहटको यमुनामाई–२ भेडियाही मतदान केन्द्रमा मतपेटिका लुटिने दृश्यले राष्ट्रिय ध्यान तानेको थियो। त्यतिबेला कमजोर सुरक्षा व्यवस्था र लापरबाहीका कारण मतदान प्रभावित भएको थियो।
त्यसैगरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका–शिवनगर र महोत्तरीको औरही–श्रीपुर मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको घटना भइसकेको छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि सर्लाही–६ मा मतदान केन्द्र कब्जा गर्ने प्रयास र झडप हुँदा गोली चलेको थियो, जसमा बम विस्फोटले मृत्यु समेत गराएको थियो।
निर्वाचन आयोगले यी अनुभवलाई मध्यनजर गर्दै अति संवेदनशील मतदान केन्द्रमा सशस्त्र सुरक्षा, प्रहरी र व्यवस्थापन टिमको विशेष व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ।









