वीरगंज , ५ फागुन —
रासस वीरगंज कार्यालयले ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘‘निर्वाचन आचारसंहितामा सञ्चार’’ अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन उम्मेदवार, प्रशासन, सुरक्षा निकाय, सञ्चार माध्यम र अन्य सरोकारवालाले आचारसंहिता पालनामा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचन आचारसंहिता एकजुट र समग्र रूपमा पालन गर्नुपर्ने विषय भएको बताउँदै, सबै निकायले समन्वय गरेर मतदान प्रक्रिया सुरक्षित बनाउनुपर्ने बताए। निर्वाचन अधिकृतहरू मधुसुदन आचार्य र बुद्धिलाल श्रेष्ठले लिखित उजुरीमा मात्र नभई सामाजिक सञ्जालमा फैलिएका उल्लङ्घनका गतिविधिमा पनि निगरानी आवश्यक रहेको उल्लेख गरे।
सहायक प्रजिअ विनोदकुमार पोखरेल, पत्रकार महासंघ र स्थानीय सञ्चारकर्मीहरूले पनि आचारसंहिताको पूर्ण पालनाका लागि मिडियाले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। राससका प्रमुख हिमाल लम्सालले सबै राजनीतिक दल र उम्मेदवारका गतिविधिलाई समान दृष्टिले रिपोर्ट गर्ने र सत्य र सन्तुलन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।









