पर्सा , ५ माघ —
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिस्वा र वडा नं. २३ सबैठवामा मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनमत पार्टीका तर्फबाट उम्मेदवार सरार्फले स्थानीयको समस्या सुन्दै समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भिस्वामा सडकको दयनीय अवस्था, ढल निकास र खानेपानी अभाव तथा सरसफाइ समस्या उठेका थिए भने सबैठवामा कच्ची सडक, अव्यवस्थित ढल, सडकबत्तीको कमी, स्वास्थ्य सेवामा पहुँच र रोजगारी अभावबारे स्थानीयले ध्यानाकर्षण गराएका थिए।
स्थानीयका गुनासो सुन्दै सरार्फले सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकता बनाउने बताए। उनले स्थानीयस्तरमै रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रोत्साहन र पूर्वाधार विकासमा जोड दिने उल्लेख गरे।
घरदैलो कार्यक्रममा स्थानीय युवाहरू, महिला र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।









