छपकैयामा रास्वपा उम्मेदवार कानु घरदैलो

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रमका क्रममा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै उनले आफ्ना विकास योजना र प्रतिबद्धता सार्वजनिक गरेका थिए । घरदैलो अभियानका क्रममा कानुले रास्वपाको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको जीवनस्तर सुधार गर्ने तथा भुईँ तहका नागरिकको आवाज संसद्मा पुर्‍याउने बताए ।

“मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लुप्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ ।”

कानुले विगतका जनप्रतिनिधिमाथि आरोप लगाउँदै यस क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय काम नभएको बताए । “आज पनि यो क्षेत्र २० वर्षअघिको जस्तै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु ।”

आफूसँग काम गर्ने अनुभव रहेको र जनतालाई निराश नपार्ने दाबी गर्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। साथै, उनले मधेसी समुदायका बालेन्द्र शाह लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने दाबीसमेत गरे । कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै मुस्लिम महिला तथा युवालाई रोजगारीमुखी र सीपमूलक तालिम उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको थियो । युवाहरूले कानुको स्वागत गर्दै “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाएका थिए ।

सम्बन्धित पोस्टहरुः