स्व. बिहारीलाल लाठको १४औँ पुण्यतिथिमा ‘कर्मवीर सम्मान’ प्रदान, ११ सिलाई मेसिन वितरण

वीरगंज ०६ फागुन 


रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४औँ पुण्यतिथिको अवसरमा ‘स्व. बिहारी लाठ कर्मवीर सम्मान पत्र’ प्रदान गर्नुका साथै राधा देवी वृजलाल लाठ ट्रष्टको सौजन्यमा गरिब तथा असहाय महिलाहरूलाई स्वरोजगारका लागि ११ थान सिलाई मेसिन सेट वितरण गरिएको छ।

कार्यक्रम GTC Overseasको प्राङ्गण, आदर्शनगरमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा Madhesh Universityका उपकुलपति डा. दीपक शाक्यको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. शाक्यले स्वर्गीय बिहारीलाल लाठले समाजसेवा, उद्योग–व्यवसाय तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याएको योगदान अत्यन्तै प्रेरणादायी रहेको उल्लेख गर्दै यस्ता समाजहितका कार्यक्रमले वास्तविक अर्थमा समाज रूपान्तरणमा टेवा पुग्ने बताउनुभयो। उहाँले स्वरोजगारका माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै शिक्षा, सीप र अवसरलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी विशिष्ट अतिथिहरूमा संस्थाका निवर्तमान अध्यक्ष अशोक कुमार लाठ, Birgunj Chamber of Commerce and Industryका अध्यक्ष हरि गौतम, मुकुन्द आचार्य, रामजी राम, रमेश अग्रवाल, सुरेश अग्रवाल, गणेश लाठलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम Relief Society of Commerce वीरगञ्जका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त अवसरमा वक्ताहरूले स्वर्गीय लाठको योगदानको स्मरण गर्दै उहाँको सेवाभाव र सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। ट्रष्टमार्फत वितरण गरिएको सिलाई मेसिनले विपन्न महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

सम्बन्धित पोस्टहरुः