मधेश प्रदेशकी संस्थापक तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।
केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै शर्माले पार्टीको निर्णय प्रक्रिया, कार्यशैली र आसन्न फागुन २१ गतेको निर्वाचन व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेकी हुन्। २०७९ साउन १० देखि पार्टीमा सक्रिय रहँदै आएकी शर्माले स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत गतिविधि बढेको आरोप लगाएकी छन्।
उनले संगठनमा खटिएका कार्यकर्ताको योगदानको मूल्यांकन नहुने, विधि–विधान उल्लङ्घन हुने र पार्टी निर्णयमा आर्थिक अनियमितताको प्रभाव देखिएको दाबी गरेकी छन्।
आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी पार्टी परित्याग गरेको उल्लेख गरेकी छन्।
शर्माले पार्टीले दिएको अवसर र सहकार्यप्रति आभार व्यक्त गर्दै औपचारिक रूपमा रास्वपाबाट अलग भएको घोषणा गरेकी छन्।








