वीरगंज, ६ फागुन । त्रिजुद्ध माध्यमिक विद्यालयमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्पmत सशक्त बनाउने उद्देश्यले ५ दिने विशेष क्रिकेट प्रशिक्षण कार्यक्रम शुरू भएको छ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” तथा “दबिएको आवाज बुलन्द होस्, अपाङ्गता अधिकार हनन नहोस” भन्ने मूल नाराका साथ कार्यक्रम उक्त प्रशिक्षण कार्यक्रम नेपाल नेत्रहिन क्रिकेट संघ र मधेश प्रदेश नेत्रहिन क्रिकेट संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ। कार्यक्रममा मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साहको अध्यक्षतामा उदघाटन सत्र सम्पन्न भएको थियो।
५ दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा २२ जना विद्यार्थीहरूको सहभागीता रहेको छ। सहभागीहरूलाई क्रिकेटका आधारभूत सीप, बलिङ, ब्याटिङ, फिल्डिङ तथा खेलका नियम सम्बन्धी व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएको छ। दृष्टिविहीन क्रिकेटमा प्रयोग हुने घण्टी जडित विशेष बल र ध्वनि संकेतमार्पmत खेल सञ्चालन गरिने भएकाले खेलाडीहरूमा समन्वय, एकाग्रता र आत्मविश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा उमेश मिश्रा, इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, समाजसेवी रूपशिला जैसवाल, बन्दना शर्मा तथा मार्टिन मोक्तानको उपस्थिति रहेको थियो।









