पेस्तोल पडकिंदा बालक घाइते

वीरगंज, ७ फागुन । सर्लाहीको मलंगवा नगरपालिका–४ ढाँका गाउँमा निर्माणाधीन मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब ०१ः३५ बजे स्थानीय रामविश्वास रायका छोरा करिब १५ वर्षीय आकाश राय घरदेखि करिब १०० मिटर पूर्वतर्पm निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु खोलेर हेर्दा पेस्तोल भेटिएको छ ।
उक्त पेस्तोल नक्कली भएको ठानी चलाउने प्रयास गर्दा अचानक पड्किँदा आकाश रायको दाहिने हातको पन्जामा गोली लागी घाइते भएका हुन।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायव उपरीक्षक सरोज राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते बालकलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा मा उपचारका लागि ल्याइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल र पड्किएको खोका पेस्तोलमै अड्किएको अवस्थामा बरामद गरेको जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट करिब १ किलोमिटर पूर्व तथा जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।
सम्बन्धित पोस्टहरुः