पर्सा र रौतहटमा तेस्रो जितको दौड, अनुभवी उम्मेदवारहरूलाई कडा चुनौती

पर्सा,९ फागुन –
पर्सा र रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ । दलहरू आ–आफ्ना उम्मेदवार जिताउने रणनीतिमा केन्द्रित भइरहँदा केही अनुभवी नेताहरू भने लगातार तेस्रोपटक संसद् पुग्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् ।

पर्सा क्षेत्र नम्बर–१ बाट प्रदीप यादव तेस्रो जितको प्रयासमा छन् । यसअघि दुईपटक जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भइसकेका यादव यसपटक नेकपा (एमाले)बाट उम्मेदवार बनेका हुन् । उनले सहज खानेपानी वितरणलगायत विकासलाई मुख्य एजेन्डा बनाएका छन् । तर विपक्षी उम्मेदवारहरूले उनका अघिल्ला कार्यकालमा अपेक्षित विकास नभएको भन्दै चुनौती दिएका छन् । यो क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

रौतहट क्षेत्र नम्बर–३ मा आजपा अध्यक्ष प्रभु साह पनि तेस्रोपटक संसद् प्रवेशको दौडमा छन् । फरक–फरक दलबाट चुनाव जितिसकेका साहले मधेसको मुद्दा, नागरिक अधिकार र भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेका छन् ।

यहाँ ४१ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
यस्तै, रौतहट क्षेत्र नम्बर–४ बाट नेपाली काङ्ग्रेसका देवप्रसाद तिमिल्सिना पनि लगातार तेस्रो जितको लक्ष्यसहित मैदानमा छन् । कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य र रोजगारी उनका मुख्य चुनावी एजेन्डा हुन् । यस क्षेत्रमा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

तीनै क्षेत्रमा अनुभवी उम्मेदवारहरूको पुनरागमन प्रयास र नयाँ–पुराना प्रतिस्पर्धीबीचको टक्करले चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

सम्बन्धित पोस्टहरुः