निर्वाचन कर्मचारी खटनपटनमा विभेद भएको शिक्षकहरूको आरोप

पर्सा , १० फागुन –

पर्सामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटनपटनमा विभेद गरिएको आरोप लागेको छ।

शिक्षण पेशामा आबद्ध शिक्षकहरूले निजामती कर्मचारीलाई अत्यधिक प्राथमिकता दिइएको र वरिष्ठ शिक्षकहरूलाई अपहेलित गरिएको गुनासो गरेका छन्।

शिक्षकहरूका अनुसार पर्साका १६७ मतदानस्थल र ४४१ मतदान केन्द्रका लागि खटाइएका कर्मचारीमध्ये करिब ९० प्रतिशत निजामती कर्मचारी र मात्र १० प्रतिशत शिक्षक रहेका छन्। कतिपय शिक्षकको नाम दुई–तीन स्थानमा दोहोर्याएर राखिएको र पछि सच्याउने नाममा निजामती कर्मचारीका आफन्तलाई खटाउने प्रपञ्च गरिएको आरोप उनीहरूको छ।

निर्वाचन अधिकृतको जिम्मेवारीमा पनि शिक्षकलाई न्यून र निजामती कर्मचारीलाई बढी प्राथमिकता दिइएको बताइएको छ।

यता, जिल्ला निर्वाचन कार्यालय पर्सा क्षेत्र नं. २ का प्रमुख निर्वाचन अधिकृत मधुसूदन आचार्यले तयारीका क्रममा केही त्रुटि भएको स्वीकार गरे पनि विभेद नगरिएको दाबी गरे।

उनले प्राथमिकतामा निजामती कर्मचारी परिचालन गरिएको सत्य भए पनि जानाजानी भेदभाव नगरेको स्पष्ट पारे।

सम्बन्धित पोस्टहरुः