पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश

वीरगञ्ज, 

१०  फागुन । देशभर फैलिँदै गएको परिवर्तनको बहससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहौल थप रोचक बनेको छ। विशेषगरी वीरगञ्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठनात्मक उपस्थिति मात्र होइन, जनसमर्थनको आधार पनि फराकिलो बन्दै गएको संकेत दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (पूर्व माओवादी) का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। वडा नम्बर २३ मा आयोजित कार्यक्रममा माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतोसहित सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवा लगायतका पदाधिकारी रास्वपामा प्रवेश गरेको जनाइएको छ। प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले पुरानो राजनीतिक अभ्यासप्रति निराशा व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई सघाउने निर्णय गरेको बताएका थिए।

यसैबीच, पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। शनिबार नगवामा पार्टी कार्यालयको उद्घाटनसँगै उनले घरदैलो कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाएका हुन्। नगवामा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो।

टोल–टोलमा पुगेका पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासन आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। घण्टी चुनाव चिन्हको प्रचारमा जुटेका कार्यकर्ताहरूले घरघर पुगेर समर्थन जुटाएका थिए। कार्यक्रमका क्रममा स्थानीय महिला तथा पुरुषहरूले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।

घरदैलोमा युवाहरूको उत्साह विशेष देखिएको थियो। समर्थकहरूले पन्तसहित बालेन शाह र रवि लामिछाने का तस्वीर तथा घण्टी चिन्ह अंकित सामग्री बोकेर नाचगान गर्दै समर्थन जनाएका थिए। “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नाराले वातावरण उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्‍याउँदै परम्परागत दलप्रति निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे। उनले क्षेत्रीय विकासका लागि योजनाबद्ध र परिणाममुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक–पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आफ्नो प्राथमिकता रहेको बताए।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडकको अवस्था, स्वास्थ्य सेवा अभाव र समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए। जवाफमा पन्तले केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ मोडमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय बनेका छन्। रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनतामाझ आफ्नो उपस्थिति थप सशक्त बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः