वीरगंज, १० फागुन –
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका–२१ मा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय मतदातासँग सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
आइतबार बिहानदेखि विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका यादवले पर्साको विकास, समृद्धि र स्थिर सरकारका लागि एमालेको जित आवश्यक रहेको बताए। पूर्व मन्त्रीसमेत रहेका उनले खानेपानी मन्त्रीका रूपमा यस क्षेत्रमा गरेको काम र आगामी योजनाहरू अघि बढाउन जनताको समर्थन अपरिहार्य भएको उल्लेख गरे।
घरदैलोका क्रममा स्थानीयले सडक, ढल, खानेपानी, बिजुली, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता समस्या उठाएका थिए। यादवले ती सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्दै ठोस योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।









