वीरगंज । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा कर्मचारी खटनपटनमा भेदभाव गरिएको आरोप लागेको छ ।
खासगरी शिक्षण पेशामा आबद्धहरूले निजामती कर्मचारीलाई अत्यधिक महत्त्व दिइएको र वरिष्ठ शिक्षकहरूलाई अपहेलित गरिएको आरोप लागेको छ ।
पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४४१ वटा मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रका लागि एकजना अधिकृत, एकजना सहायक अधिकृत, तीनजना सहायक कर्मचारी, एकजना सहयोगीका साथै निर्वाचन अधिकृतले तीनजना स्वयंसेवक परिचालन गर्न पाउने व्यवस्थाअनुरूप चारवटै क्षेत्रमा कर्मचारी, शिक्षक खटाइँदा निजामती कर्मचारीहरूलाई अत्यधिक प्राथमिकता दिइएको र शिक्षकहरूलाई निकै कम परिचालन गरिएको तथा त्यसरी परिचालन गर्दा पनि विभेद गरिएको शिक्षकहरूले आरोप लगाएका छन् ।
अहिले ९० प्रतिशत निजामती कर्मचारी र १० प्रतिशत मात्र शिक्षकहरूलाई निर्वाचन मतदानस्थल र केन्द्रमा परिचालन गरिएको छ । त्यसमा पनि एकैजना शिक्षकको नाम दुई/तीन स्थानमा राखेर पठाइएको शिक्षकहरूले बताएका छन् । यसो गर्नुको कारण दुई/तीन स्थानमा शिक्षकको नाम रहेकोमा सच्याउने र त्यसमा पुनः निजामती कर्मचारीबाट आफन्तहरूलाई राख्ने प्रपञ्च रचिएको शिक्षकहरूको आरोप छ ।
निर्वाचनमा खटाइएका शिक्षकहरू स्थायी, वरिष्ठ भएपनि उनीहरूमध्ये १० प्रतिशतलाई मात्र निर्वाचन अधिकृतको जिम्मेवारीमा राखिएको छ । जबकि निजामती कर्मचारीहरूमा भने ९० प्रतिशतलाई यो जिम्मेवारी दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्सा क्षेत्र नं २ का प्रमुख निर्वाचन अधिकृत मधुसूदन आचार्यले निर्वाचन तयारीमा त्रुटि भएको तर विभेद नगरिएको बताए । उनले प्राथमिकतामा निजामती कर्मचारीहरू परिचालन गरिएको स्वीकारे ।









