वीरगंजमा जारी कर्फ्यू हटाइयो, सीमित क्षेत्रमा रात्री निषेधाज्ञा लागू

वीरगंज , ११ फागुन —

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकामा लागू गरेको कर्फ्यू आदेश हटाउँदै शान्ति–सुरक्षा पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै केही सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज विहान ९ः४५ बजेदेखि लागू कर्फ्यू आदेश आजै साँझ ४:३० बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । परिस्थितिमा क्रमिक सुधार देखिएको र सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा कर्फ्यू निरन्तरता आवश्यक नदेखिएको प्रशासनको भनाइ छ ।

तर, थप सतर्कता अपनाउन वीरगंज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा आज आइतबारसाझ ६ :०० बजेदेखि भोलि ६ :०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञा अवधिमा कुनै पनि किसिमका भेला, सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न नपाइने स्थानीय प्रशासनले स्पष्ट पारेको छ।

निषेधाज्ञा लागू क्षेत्रको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक तोकिएको स्थानीय प्रसाशनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक संघ–संस्था र सर्वसाधारणलाई संयम अपनाई शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

सम्बन्धित पोस्टहरुः